Bharat Dahal

Political Analyst for Nepal

के का लागि संझिईन्छ माओ त्सेतुङलाई ?

माओको संझना उनी विश्व कम्युनिष्ट आन्दोलन र चिनियाँ क्रान्तिका अगुवा भएकाले मात्र गरिंदैन । उनले कम्युनिष्ट आन्दोलनलाई विचारधारात्मक रुपमा समृद्ध पार्न र साम्राज्यवाद विरोधि संघर्षलाई गुणात्मक रुपमा माथि उठाउन यस्तो योगदान दिएका छन् जसको आभावका क्रान्ति र स्वतन्त्रता दुबै कुरा अपूर्ण हुन जान्छन् ।

१. माओ त्सेतुङको पहिलो अमर योगदान भनेको एकदमैं पिछडिएका कृषिप्रधान देशहरु, जहाँ मजदुर वर्गको उपस्थिति नगण्य हुन्छ, मा क्रान्ति सम्पन्न गर्ने विचार र बाटोको विकास गर्नु हो । माक्र्सको विचार वा लेनिनको प्रयोगभन्दा भिन्न तरिकाले चीनमा उनले यो काम सम्पन्न गरे, जसलाई उनले ‘नयाँ जनवाद’को नाम दिए । सार्वजनिक र राष्ट्रिय पूँजीवाद मिश्रीत आर्थिक प्रणाली, सबैलाई श्रमको अनिवार्यता, जिविकोपार्जनको ग्यारेन्टी र सर्वहारा वर्गिय शासन प्रणलिको नाम नै ‘नयाँ जनवाद’ हो । यसै क्रान्ति मार्फत् उनले समाजवादमा शान्तिपूर्ण प्रकृयाबाट संक्रमण गर्न सकिने आधार निर्माण गरेका थिए ।

२. माओको ‘नयाँ जनवादी क्रान्ति’को सिद्धान्त अन्तर्विरोधको उग्रता र शोषणको उत्कर्षका आधारित थियो । पूँजीवादले साम्राज्यवादको रुप लिएपछि त्यसले श्रोतसाधन र बजार भएका अविकसित देहहरुलाई उपनिवेश बनाउने अभियान तिब्र बनायो । परिणामतः तुलनात्मक रुपमा विकसित देशहरुभन्दा अविकसित औपनिवेशिक देशका जनतासंग त्यसको अन्तर्विरोध तिब्र बन्दै गयो । यसै प्रकृयालाई लेनिनले ‘क्रान्तिको केन्द्रबिन्द पूर्वतिर सर्दै गएको’ बताएका थिए । माओले के निष्कर्ष निकाले भने साम्राज्यवादको औपनिवेशिक दासत्वबाट मुक्ति खोजीरहेका जनतालाई यो दिशामा संगठित गर्नुपर्छ । यसका लागि देशमा पूँजीवादको विकास भएर सर्वहारवर्गको उदय होला र क्रान्ति गरौंला भनेर बस्नु हुँदैन भन्ने उनको निष्कर्ष थियो ।

३. उनको तेश्रो महान योगदान दलाल पूँजीपति वर्गको खोजसंग सम्बन्धित छ । त्यसबेलैदेखि अविकसित देशको धनाढ्य जमिन्दाहरुको तप्काले आफ्नो देशमा साम्राज्यवादी मालहरुको बजार बनाउने र त्यसबाट कमिशन खाएर पूँजी सञ्चय गर्ने गर्दै आएको थियो । देशभित्र जग नभएको तर साम्राज्यवादीहरुबाट कमिशन खाएर माथिबाट पूँजीपति बन्दै गएको यहि तप्का दलाल पूँजीपति वर्ग हो र यो क्रान्तिको शत्रु हो भन्ने निष्कर्ष उनले निकाले । माओको ब्याख्या अनुसार क्रान्तिका ३ वटा आधारभूत शत्रुहरु सामन्तवाद, साम्राज्यवादसंगै दलालपूँजीपति वर्ग पनि पर्दछ । यी ३ तप्कालाई उनले अल्पविकसित देशहरुको क्रान्तिमा अगाडि चुनौतिका रुपमा खडा भएका ‘तिन पहाड’ को नाम दिए ।

४. माओाको अर्को अविस्मरणिय योगदान भनेको अल्पविकसित देशहरुको क्रान्ति सामन्तवाद, साम्राज्यवाद र दलाल नोकरशाही पूँजीवादका विरुद्धको एकिकृत क्रान्ति हो भन्ने निष्कर्ष हो । यसको अर्थ के हो भने आन्तरिक प्रजातन्त्रको कुराले मात्र यस्ता देशको क्रान्ति हुदैन, क्रान्तिको अर्को अभिन्न सर्त हो । राष्ट्रिय स्वाधिनता । जसले यी दूई मध्ये कुनै एउटाको परित्याग गर्छ, त्यो कम्युनिष्ट होइन भन्ने माओको धारणा थियो । उपनिवेशको माध्यम बनेको यो वर्गको अस्तित्वको उदय भएपछि औपनिवेशिक देशहरुमा राष्ट्रिय मुक्ति आन्दोन क्रान्तिको अभिन्न अंग बन्न पुग्यो । यो राष्ट्रिय मुक्ति आन्दोलनको चरण पार नगरिकन क्रान्ति पूर्ण हुँदैन भन्ने शिक्षा माओको अविष्मरणीय योगदान हो ।

५. ठ्याक्कै मौलिक देन त नभनौं तर कम्युनिष्ट आन्दोलनमा पहिलो पटक अत्यन्त महत्वका साथ माओले उठाएको विषय ‘सर्वहारा साँस्कृतिक क्रान्ति’ थियो । यसको सार यस्तो थियो— आर्थिक र राजनीतिक क्रान्तिहरुको स्थायित्व त्यो बेलासम्म हुँदैन, जवसम्म मानिसको चिन्तन, प्रवृति, आचार विचार र संस्कारमा क्रान्ति हुँदैन । किनभने मष्तिष्क नै सोंच्ने र काम गर्ने केन्द्र हो । यो ठिक नहँुदासम्म आर्थिक तथा राजनीतिक क्रान्तिहरु कुनै पनि बेला उल्टिन सक्छन् । यसैलाई उनले ‘अरुतिर चोर औला देखाउनु भन्दा पहिले आफुभित्रको शत्रुलाई चिन, पहिले आफ्नो पुरानो दिमागमा आगो सल्काउ’ भनेका थिए ।

तर हामी कहाँ अफशोचको स्थिति छ । ‘सिआइए’ र ‘रअ’ जस्ता साम्राज्यवादी शिविरका जासुसि सँस्थाहरुले सञ्चालन गरेका अपराधि गिरोहहरुले साम्राज्यवादकै योजनामा सुनियोजित रुपमा माओको नामको व्यापार गरिरहेका छन् । जनतालाई दास ठानेर मालिकको रुपमा प्रस्तुत हुँदै आजका अभिजात वर्गिय तत्वहरुले जनवादको नाममा स्वार्थ पूर्ति गरिरहेका छन् । समाजभित्रका चरम महत्वाकांक्षी तत्वहरुलाई प्रयोग गरेर कम्युनिष्ट आन्दोलनको साम्रामज्यवादीकरण गर्ने र साम्राज्यवादलाई मानवीय देखाउने जालसाजिहरु जोडतोडले चलिरहेका छन् । साम्राज्यवाद र त्यसका यस्ता दलालहरुका विरुद्ध गरिने संझौताहिन संघर्ष नै माओको वास्तविक स्मरण हो ।         ०७१ साल पुष ११