Bharat Dahal

Political Analyst for Nepal

नेपालको वाम आन्दोलन : समस्या र पुनर्गगठनका आधार

नेपालको वामपन्थी आन्दोलनको अन्तर्वस्तु र रुपको अस्तित्व जे जस्तो अवस्थामा थियो, माओवादी विद्रोहको विसर्जनपछि, त्यो पनि विसर्जित भएको छ । साम्राज्यवादी शक्तिहरु र नेपालभित्रका अबानिछत शक्तिकेनद्रहरुको जगेडाका रुपमा काम गर्न ‘कम्युनिष्ट’को पसल खोलेर बसेका बगरेहरुको कुरा छाडिदिने हो भने यहाँको वाम आन्दोलन बिल्कुलै नयाँ धरातलबाट पुनर्संगठित गरिनु पर्ने विषय बनिसकेको छ । यस्तो अवस्था सिर्जना हुनुका पछाडि निश्चित आधार, श्रोत र कारणहरुले काम गरेका छन्, जो वस्तुगत र आत्मगत दुबै जीवन प्रणालिमा व्याप्त छन् । कतिपय समस्याहरु यस्ता छन्, जो माक्र्सवादी विश्व दृष्टिकोणप्रतिको गलत बुझाईका कारणले उत्पन्न भएका छन् भने कतिपय फरक समाजबाट गरिएका व्याख्याको प्रभावका कारणले र कतिपय बद्नियतपूर्ण किसिमले सिर्जना गरिएका छन् । यी सबै प्रकारका समस्याहरुको सम्यक चिरफार एवं बैज्ञानिक संष्लेषण विना आन्दोलन पुनर्संगठित हुन संभव छैन ।

समस्याहरु मूलतः ५ वटा कोणबाट उत्पन्न भएका छन् । पहिलो समस्या माक्र्सका विचारहरुलाई कुन रुपमा  बुझ्ने भन्ने कोणबाट आएको छ । दोश्रो प्रकारको समस्या अवधारणाहरुमा देखिन्छ । क्रान्तिप्रतिको भ्रामक दृष्टिकोणले तेश्रो समस्याको प्रतिनिधित्व गर्दछ । संरचनात्मक पक्षसंग जोडिएको चौथो प्रकारको समस्याले संगठन र यससंग संबन्धित मूल्यहरुको भारी बोकेको छ भने पाँचौ समस्या परनिर्भरताको भिन्न धरातल र कोणबाट आएको छ, जसले भौतिक स्वार्थका लागि अबान्छित शक्तिकेन्द्रहरुको बुई चढेर भए पनि सफलता हात पार्नु पर्छ भन्ने दृष्टिकोण राख्दछ । चिन्तन र प्रकृयाका रुपमा पछिल्लो बाहेका ४ थरि दृष्टिकोणहरुको श्रोत एउटै छ र सबै एक आपसमा अन्तर्निर्भर छन् । तर परिणामका हिसाबले पाँचौ सहितका सबै दृष्टिकोणहरुले समान प्रवृतिको प्रतिनिधित्व गर्दछन्, जहाँ निरसता, निराशा, कुण्ठा, पिडा, अनैतिकता र पतनको भारी छ । जीवन्त मानिसको अस्तित्व कतै देखिंदैन ।

बुझाईमा समस्या

माक्र्सवाद जीवन र जगतलाई हेर्ने, बुझ्ने विश्व दृष्टिकोण वा चिन्तन पद्धति हो कि प्रत्येक विषयमा पूर्व निर्धारीत मत हो ? यो शासन प्रणालिको बनिबनाउ संरचना हो वा विकासका नियमहरुलाई नियाल्ने विधि ? विषय, वस्तु र घटनाहरुको समग्र संष्लेषणबाट अबिच्छिन्न श्रृंखलाका रुपमा निस्कने वैचारिक निष्कर्र्ष, जसलाई हामी विचारधारा भन्छौं, को आधारभूत संबन्ध आम दिशासंग हुन्छ कि प्रत्येक स्थानिय विशिष्टताहरुसंग ? यी प्रश्नहरुमा कहिल्यै छलफल भएन । मार्क्स्वादलाई मत मान्नेहरु पुस्तकपन्थको बाटोमा अघि बढे । तिनीहरुले जडमतिवादलाई आत्मसात गरे । मानवीय समाज, जीव जगत र प्रकृतिलाई हेर्ने, बुझ्ने र बदल्ने कुरामा माकर््सवादी चिन्तन पद्धति, विधि र नियमहरुलाई आत्मसात त गरेनन् नै, यस्ता तत्वहरु जडसूत्रवादी समेत् बन्न सकेनन् । यसका विपरित, विभिन्न प्रकारका तामझाम र मनोबैज्ञानिक उत्तेजनाका बाबजुद, सबै यो वा त्यो रुपमा साम्राज्यवादका जगेडा शक्तिमा परिणत भए ।

मार्क्सवादका दुइवटा पक्षहरु छन् । एउटा पक्ष सिद्धान्त हो । यो पक्ष विषय, वस्तु र घटनाहरुको सामान्य निष्कर्षसंग संबन्धित छ । त्यसैले यो सार्वभौम छ, जसलाई हामी विचारधारा भन्छौं । समाजमा वर्गहरुको अस्तित्व, सामाजिक संरचनाहरुको वर्ग पक्षधर चरित्र, समाजको आमूल रुपान्तरणका लागि बल प्रयोगको निर्णायक भूमिका, संगठित पूँजीवादका विरुद्धमा उत्पीडित वर्गहरुको विश्वव्यापि ऐक्यबद्धता, ऐतिहासिक भौतिकवादी द्वन्दात्मक दृष्टिकोण, पूँजीवाद, समाजवाद लगायत सबै प्रकारका समाजहरुको विकासका आम नियमहरुको निक्र्योल यस्ता केहि विषयहरु हुन्, जसको समग्रताबाट मार्क्सवादी विचारधाराको विकास भएको छ । यी विषयहरुको प्रकृति सार्वभौम भएका कारणले संसारका कुनै पनि प्रकारका समाजहरुका लागि सत्य छन् । सार्वभौम विचारहरुले नेपाल, अमेरीका, इरान, हब्सी, मंगोल, आर्य, वैदिक, मुश्लीम, बौद्ध, इसाई कसैका बीचमा भेदको कुरा गर्दैन । आधारभूत रुपमा वर्गको मात्र भेद गर्दछ ।

माकर््सवादका बारेको बुझाईको अर्को समस्या स्कूलिङले पैदा गरेको छ । माकर््सवादका आम सिद्धान्तहरुको आलोकमा आफ्नो समाजभित्र यसको अध्ययन, व्याख्या र प्रयोग आफ्नै मोलिकतामा हुनु पर्दथ्यो । तर नेपालमा जति पनि वामपन्थी स्कूलिङहरुको उत्थान भयो, ती सबै या त यूरो–अमेरीकन या भारतीय दृष्टिकोणमा आधारित छन् । नेपालभन्दा एकदमैं फरक समाजमा विकास गरिएका स्कूलिङहरुले नेपाललाई ठिक ढंगले बुझाउने र अघि बढ्न दिने संभावना नै थिएन । भारतलाई क्रान्तिको मित्र शक्ति ठान्ने पुष्पलालवादीहरुको चिन्तन, गाइ काटेर खानुलाई सबैभन्दा माथिल्लो स्तरको क्रान्तिकारी कार्वाही ठहर्याउने माओवादी प्रवृति र नेता÷कार्यकर्ताहरुलाई एनजिओहरुको जागिरमा फिट गरेपछि मात्र पार्टी जोगिन्छ भनेर जनताप्रति पूर्ण अविश्वास गर्ने एमाले संस्कृति यस्तै आयातित स्कूलिङका नतिजाहरु हुन् । यीनीहरुको स्कूलिङ विना लगानी रातारात धनाढ्य बन्ने आफ्नै व्यापारका लागि मात्र काम लाग्यो ।

अवधारणागत समस्या

माकर््सवादका नाममा यहाँ यस्ता केहि अवधारणाहरुले घर गरेका छन् जसको क्रान्तिसंग कुनै संबन्ध छैन । उदाहरणका लागि ‘राज्यसत्ता बाहेक सबै चिज भ्रम हो’ भन्ने वाक्यलाई यहाँ आन्दोलनको साध्यका रुपमा अंगिकार गरिएको छ । राज्यसत्ता र पार्टीभित्र पूँजीवादपन्थीहरुको दबदबालाई खोस्ने उद्देश्यले चीनको साँस्कृतिक क्रान्तिका दौरानमा साम्यवादी समाजको निर्माणका दिशामा अपरिहार्य साधनका रुपमा उठाईएको यो नारालाई यहाँका वामपन्थीहरुले लक्षका रुपमा बुझे । जुनसुकै प्रकारको भए पनि राज्यसत्ताको चरित्र दमनकारी र अक्सरतया जनविरोधि हुन्छ भन्ने कुरा स्पष्ट छ । यसको प्राप्तिलाई अन्तिम लक्ष मान्ने स्कूलिङ चलाउनेहरु वर्वर तथा अमानवीय बन्नु पनि स्वाभाविक छ । यो चिन्तनले वाम आन्दोलनलाई मानवीयता, करुणा, प्रेम, स्नेह जस्ता संवेदनाहरुबाट अलग्याउँदै उपभोक्तावादी बनाउँदै लग्यो । मार्क्ससवाद जस्तो मानवताको दर्शनलाई यसले क्रुरताको पर्याय बनाउँदै लग्यो ।

यस्तै विकृत अवधारणा मध्ये पर्दछन् पार्टीको मूख्य पद ओगटेको नेतालाई ‘नेतृत्व’ ‘संस्था’ र ‘प्राधिकार’ मान्ने सोंचाई । व्यक्ति कहिल्यै नेतृत्व हुँदैन । ‘नेतृत्व’ शब्दले नै बुझाईरहेको छ कि त्यसभित्र समुह छ, सामुहिकताको उपस्थिति छ । सिंगो कमिटीको समष्टि नेतृत्व हो, जसलाई सबैभन्दा योग्य भनिएको नेताले अगुवाई गरेको हुन्छ । मूख्य नेतालाई ‘नेतृत्व’का रुपमा स्विकार गर्नासाथ बाँकिको अस्तित्व स्वतः समाप्त हुन्छ । कमिटीको टीम हनुमानहरुको बथानका रुपमा परिणत हुन्छ । त्यसैगरी व्यक्तिले ओगटेको पद ‘संस्था’ हुँदैन । पद भनेको जिम्मेवारीको स्तरको निर्धारण मात्र हो । संस्थासंग शक्ति हुन्छ । व्यक्तिलाई ‘संस्था’ मान्नासाथ त्यो निरङ्कुश, अधिनायकवादी र स्वेच्छाचारी भएर जान्छ । नेपालमा ‘वाम’का नाममा आजसम्म जतिपनि पार्टीहरु बने, ती कुनैपनि देश र जनताको पक्षमा बन्न नसक्नु र नेताको पतन हुनासाथ वा त्यसले गलत बाटो लिनासाथ पार्टीपनि त्यसैसंग सति जानुको आधारभूत कारण यहि हो ।

व्यक्तिलाई ‘प्राधिकार’ मान्ने चिन्तन पनि वाम आन्दोलनभित्रको ठूलो विकृति हो । ‘प्राधिकार’ शब्दले निरपेक्ष अर्थ दिएको छ । यसको अर्थ हुन्छ ‘त्यो बाहेक अर्को छैन’ । एतिहासिक भौतिकवादी मान्यता के हो भने व्यक्ति कुनै पनि पार्टी वा आन्दोलनको ‘प्राधिकार’ हुन सक्दैन । जिवित व्यक्ति त झन हुनै सक्दैन । यो अवधारणा इतिहास निर्माताको रुपमा भूमिका खेल्ने श्रमजिवी जनसाधारणको मूल्यलाई विस्थापित गर्ने उद्देश्यले आएको अवधारणा हो । यो पूर्णतः पूँजीवादी एकाधिकारवादी चिन्तन हो । यसले राजनीतिक आन्दोलनमा ‘इश्वर’को परिकल्पना गरेको छ । वामपन्थी आन्दोलनमा विकास भएको व्यक्ति निर्भरता यहि समस्याबाट उत्पन्न भएको हो र यसले आन्दोलनलाई पूरै भाग्यवादी बनाउँदै लगेको छ । पार्टीभित्र समुह, समुहभित्र गुट, गुटभित्र गिरोह र गिरोहभित्र व्यक्तिको दबदबा बढ्दै जानु र आन्दोलनमा षडयन्त्रले स्थान पाउँदै जानुको समस्याको श्रोत पनि यहि विकृत अवधारणा हो ।

क्रान्तिप्रतिको भ्रम

क्रान्तिको कुनै सार्वभौम मोडेल हुँदैन । यसको प्रकृया, दिशा र स्वरुप पनि सबै समाजमा एउटै प्रकारको हुँदैन । विविध प्रकारका समाजहरुको आफ्नो परिवेश, संबन्ध, संरचना, स्तर र मानिसहरुको चेतना अनुसार क्रान्तिको चरित्र सापेक्ष हुन्छ । यो राष्ट्रिय दायराभित्रको पश्न हो । कुनै समाजको विस्तृत अध्ययन गरेपछि निस्कने सामान्य निचोडबाट तयार हुने आमूल परिवर्तनको रुपरेखाले नै क्रान्तिको बाटो तयार पार्छ । नेपालको इतिहास, समाज विकासको प्रकृया, यहाँको वर्गसंबन्ध, आर्थिक जनजिवन, शक्ति समिकरण, समाज र राज्यको चरित्र, सामाजिक संस्कृतिहरु, मानिसहरुको मनोविज्ञान, यससंग गाँसिएको अन्तर्राष्ट्रिय परिवेश जस्ता विषयहरुको अध्ययन विना नेपालको क्रान्तिको तस्विर देखा पर्दैन । नेपालमा क्रान्तिको कुरा गर्नेहरुले नेपाल कस्तो छ ? भन्ने प्रश्नको समाधान निकाल्नु पर्छ, चीनमा के के भयो भन्ने कुराले नेपालको क्रान्ति हुँदैन । क्रान्ति भनेको मार्क्सवादको मौलिक स्थानिय रुप हो ।

तर नेपालको क्रान्तिको चर्चा चल्दा यहाँ नेपालबारे कहिल्यै बहस भएन । नेतादेखि कार्यकर्तासम्म कसैले नेपालको इतिहासबारे एउटा पाना पढेन । क्रान्तिको संदर्भमा यहाँका मानिसहरुले मोटामोटी पढाउने गरेका विषयहरु हुन्— मार्क्सले जर्मनीको किसान क्रान्तिका बारेमा के लेखेका छन् ? लेनिनले आफ्नो ’अप्रिल थेसिस‘मा के भनेका छन् ? माओले चीनको वर्ग विश्लेषण कसरी गरेका छन् ? आदि । क्रान्तिलाई नक्कलका रुपमा आयात गर्न खोज्ने यस्तै विकृतिले माओवादी वृत्तमा आत्म निर्णयको अधिकार सहितको जातिय राज्यको मुद्दाले सर्वोपरि स्थान मात्र पाएन कि आफैलाई समाप्त पनि पा¥यो । चारु मजुमदारको ‘वर्ग शत्रु खतम’को नारालाई गलत ढंगले लागु गर्न खोज्ने एमाले एनजिओहरुको सञ्जालमा परिणत भयो । ‘नाच्न नजान्ने, आँगन टेढो’ भनेझैं आफ्नो औकातले माकर््सवादको छेउटुप्पो छुन पनि नसकेर साम्राज्यवादका दलाल बनेपछि यीनै तत्वहरुले मार्क्सवाद असान्दर्भिक भएको कुरा गर्दैछन् ।

क्रान्तिको प्रश्नसंग जोडिएको अर्को गंभिर समस्या यसको व्याख्यामा छ । राजनीतिक सत्ता आफ्नो हातमा लिनु र सम्पत्तिको स्वामित्वमा परिवर्तन गर्नु नै क्रान्ति हो भन्ने मान्यता छ । क्रान्तिको भौतिक पक्षलाई मात्र बोकेको यो मान्यताले नेपालको वामपन्थी आन्दोलनलाई निरस, भोगवादी, स्वार्थी र अमानवीय बनाएको छ । आत्मिक–साँस्कृतिक एवं नैतिक रुपान्तरणको दृष्टिकोण र कार्यक्रम नहुँदा आन्दोलनले मालिकहरुको उत्थान गर्दै लग्यो । सत्तामा जसको पकड छ, त्यहि बाँकिको भाग्य विधाता बन्दै गयो । क्रान्ति र संपन्नताका बीचमा दुरी बढ्दै गयो । भौतिक रुपमा जति ठूलो संपन्नता हासिल हुँदै जान्छ, त्यहि अनुपातमा क्रान्तिको स्तर उठ्दै जानु पर्नेमा प्रतिक्रन्तिको धारा बलियो बन्दै जाने प्रकृयाको विकास भयो । दुनियाँभरिको इतिहासको प्रवृति यस्तै देखापरेको छ । यो समस्या क्रान्तिको भद्दा भौतिकवादी बुझाईबाट उत्पन्न भएको समस्या हो । मार्क्सवादको उल्टो बझाईको परिणाम हो ।

संरचनागत समस्या

संरचनागत समस्या नेपालको वाम आन्दोलनको सबैभन्दा ठूलो समस्या हो । विचार, मूल्य–मान्यता र कार्यक्रमहरुको औचित्य अन्त्यमा आएर संगठनसंग नै जोडिन्छन् । किनभने यो मानिसहरुको सोंचलाई मूर्त रुप दिने माध्यम हो । संगठनको अभावमा सबै प्रकारका विचारहरु स्वतःस्फूर्त प्राज्ञिक बहसमा मात्र सिमित रहन जान्छन् । संगठनको महत्व यस कारणले पनि बढि छ कि यो मानिसहरुका बीचको संबन्ध हो र मानिसहरुको चरित्र कस्तो छ भन्ने कुराले बाँकि सारा विषयहरुको भविष्यको फैसला गर्दछ । यससंग मूलभूत रुपमा ५ प्रकारका समस्याहरु जोडिएका छन् । पहिलो समस्या संगठनको बनावट वा ढाँचाको हो । दोश्रो समस्या संगठनसंग जोडिएका र त्यसलाई सञ्चालन गर्न काम गर्ने मूल्यहरुको हो । तेश्रो प्रकारको समस्या संगठनात्मक शैलिसंग संबन्धित छ भने पाँचौ समस्या यसको चरित्रसंग जोडिएको छ ।यी सबैको समष्टिले कुनै संगठनको विश्वसनिय धरातल निर्माण गर्दछ ।

वाम आन्दोलनको संगठनात्मक ढाँचा व्यक्ति केन्द्रित छ । यसले एकाधिकारवादी, अधिनायकवादी र भाग्यवादी मान्यताहरु बोकेको छ । यसले पार्टीभित्रका अभिजातहरुको सानो समुहको स्वार्थका लागि काम गर्दछ । नेतृत्वका नाममा व्यक्तिलाई सर्वोपरि मान्ने चिन्तन त छ नै । पछिल्लो समयमा, विशेषगरी माओवादीको संसदीय राजनीतिमा अवतरणपछि संगठनलाई कपट, छलछाम र धोखाधडीबाट प्रयोग गर्नुपर्ने बाध्यता सिर्जना भएपछि, संगठनका तहहरुलाई उल्टो ढंगले सञ्चालनमा ल्याईएको छ । आवश्यकताका बहानाममा महाधिवेशनका निर्णयहरु केन्द्रीय समितिले उल्टाउने, केन्द्रका निर्णय पोलिट ब्यूरोले उल्टाउने, पोलिट ब्यूरोका स्थायी समितिले, स्थायी समितिका पदाधिकारी समुहले र त्यसका निर्णय पनि हाइ कमाण्डका नाममा मूख्य पदाधिकारीले उल्टाउने प्रवृति अब सबै पार्टीहरुमा संस्थागत भएको छ । यो पार्टी नेताहरुलाई नियन्त्रण गरेका बाह्य शक्तिहरुको आवश्यकताबाट उत्पन्न गरिएको समस्या हो ।

दोश्रो समस्या मूल्यहरुको हो । जनवादी–केन्द्रीयताका नाममा नोकरशाही लागु गर्नु, विचार संष्लेषणको मामिलालाई मुठ्ठीभर व्यक्तिहरुको ठेक्का र कार्यकर्ताहरुलाई अनुचर भिडका रुपमा उपयोग गर्नु, उच्च, मध्यम वा निम्न पूँजीवादी वर्गबाट आएका नेताहरुको रुपान्तरणका लागि वर्गच्यूति (Declass) को कुनै निति नहुनु एकमना एकता र नेतृत्वको केन्द्रीकरणका नाममा नेताहरुप्रति अन्धभक्ति बढाएर त्यसलाई पूरै अपारदर्शि बनाउनु यस्ता केहि समस्याहरु हुन्, जसको कारणले यहाँका पार्टीहरुले इतिहासका प्रत्येक उथल पुथलका मोडहरुमा व्यक्तिको नाफाको कारोबार गर्ने निजी क्लबका रुपमा काम गरे । यी कहिल्यै पनि देश र जनताका बन्न सकेनन् । यस्ता मूल्यहरुले सँधैभरि व्यक्तिको प्रतिष्ठा र फाईदाका लागि बार्गेनिङ गर्ने हतियारका रुपमका काम गरे । जतिसुकै ठूलो मूल्य चुकाय पनि व्यक्रिको पतनसंगै पार्टीहरुको पनि पतन भएको छ भन्ने तथ्यको उदाहरण एमाले र एमाओवादी हुन् ।

संगठनको संरचनासंग जोडिउको तेश्रो समस्या कार्यशैलिको हो । व्याख्यामा सामुहिक कार्यशैलिको बखान गरिए पनि वाम आन्दोलनमा सँधैभरि एक व्यक्ति व्यवस्थापनको नीतिले काम गरेको छ । सामुहिक कार्यशैलिको अर्थ विचार संष्लेषण, काम कार्वाही र उत्पादनका दौरानमा कमिटी वा टीमभित्रका सबै सदस्यहरुको समान तथा सकृय सहभागिता हुनु पर्दछ भन्ने हो । यो प्रकृयाले संगठनलाई सबैका अनुभव र विचारहरुले संपन्न बनाउँछ काम कार्वाहिहरुलाई पूर्णताको दिशामा लैजान सहयोग गर्दछ । यहाँ सामुहिक कार्यशैलिलाई अगुवाको आदेशको विना प्रतिवाद कार्यान्वयन गर्नुपर्ने अर्थमा व्याख्या गरिएको छ । यसले के बताउँछ भने अगुवा सर्वगुण संपन्न त्रिकालदर्शि हुने हुँदा त्यसको आदेशको एक ढिक्का भएर पालना गर्नु नै सामुहिकता हो भन्ने सन्देश नै नेपालको चलनचल्तीको वाम आन्दोलनको सामुहिक कार्यशैलिको अन्तर्वस्तुको हो । यो पूँजीवादी व्यक्ति व्यवस्थापन प्रणालिको भद्दा नक्कल हो ।

चौथो संगठनात्मक समस्या यसको स्कूलिङ हो । यहाँको संगठनात्मक स्कूलिङले कार्यकर्ताहरुबाट निरपेक्ष समर्पणको माग गर्दछ । नेताहरु सुरक्षित हुनुपर्ने शिक्षा दिन्छ । किनभने नेता भएन भने प्रलय हुन्छ भन्ने मान्यताबाट कार्यकर्ताहरुलाई आतंकित पारिएको हुन्छ । संपत्तिको पार्टीकरणका नाममा कार्यकर्ताहरुबाट निचोरिएको संपत्ति नेताले उपयोग गर्ने, आर्थिक आय–व्ययको हिसाब मागियो भने गोपनियता भंग गर्न खोजेको आरोप लगाएर मुख बन्द गर्ने, नेताका अपराधहरुका बारेमा आलोचनाको स्वर सुनियो भने पार्टीको मेरुदण्ड भाँचेर अस्तव्यस्त बनाउन खोजेको षडयन्त्रको आरोपमा कार्वाहि गर्ने आदि कुराहरु सबै स्वघोषित वामहरुका आम प्रवृतिहरु हुन् । दास र मालिकका रुपमा विकास गरिएको यो संबन्ध भ्रष्ट, अनैतिक, कपटी, अपराधि नेताको बलियो रक्षा कबच हो । आजका कलंकित नेताहरु पार्टीभित्र कोरलिएका यीनै दासहरुको आडमा बाँचेका छन् भन्नेमा कुनै द्विविधा छैन ।

पार्टी संरचनासंग जोडिएको पाँचौं मूख्य समस्या हो, मानिसहरुको चरित्र मार्क्स  वा त्यसपछिका चिन्तकहरुको व्याख्यालाई आधार मान्ने हो भने ‘कम्युनिष्ट भनेका आम मानिसहरुभन्दा गुणत्मक रुपमैं उच्च श्रेणिका मानिसहरु हुन् । बोलिचालि, हाउभाउ, व्यवहार, जीवनशैलि सबैमा उनीहरु औसत मानिसहरुभन्दा फरक देखिनु पर्छ । किनभने कम्युनिष्ट भनेको बैज्ञानिक चेतनाबाट निर्मित प्राणि हो ।’ चिन्तकहरुको व्याख्यामा पढिंदै आएको यस्तो कुराको अर्थ यो हो कि वाम आन्दोलनमा संलगन व्यक्तिहरुले आम मानिसहरुले गर्ने कृयाकलापहरु गर्न सक्दैनन् । उनीहरुको जिम्मेवारी र मान्यता स्तरको न्यायपूर्ण मापदण्ड हुन्छ । गर्न नहुने कामहरुबारे आचार–संहिता हुन्छ । खराबिहरुलाइृ पार्टीभित्र पस्नबाट रोक्नका लागि विधि हुन्छ । यो कुरा सुन्दा माफिया, अपराधि, भ्रष्ट, तस्कर, कालाबजारीयाहरुका सञ्जालका रुपमा सकृय रहेका यहाँका ‘वाम दल’ देख्नेहरुलाई एकादेशको दन्त्यकथा जस्तो लाग्छ ।

परनिर्भरताको समस्या

यो अन्य समस्याहरुभन्दा बढि गंभिर रुपमा उठाउनु पर्ने विषय हो । वाम आन्दोलनभित्रका मूख्य मूख्य व्यक्तिहरुलाई किनेर वा योजनाबद्ध रुपमा घुसपैठ गराएर विभिन्न आवरणमा द्वन्दहरु संगठित गर्ने र यस्ता द्वन्दहरुबाट शक्ति आर्जन गरेर आफ्नो रणनीतिका लागि प्रयोग गर्ने साम्राज्यवादको रणनीति नेपालमा पनि देखापरेको छ । ०४८ सालपछि एमालेको एनजिओकरण गरेर सिंगो पार्टीलाई नव उदारवादी प्रणालिको अंगका रुपमा परिणत गरिएको अवस्था र एमाओवादी विद्रोहलाई नेपालमा स्थापित जीवन प्रणालिको ध्वंश गरी इसाईकरणका लागि बाटो बनाउन अघि बढाईएको यथार्थता यसका नमूनाहरु हुन् । भारतको गोरखपुर बजारलाई केन्द्रीय अड्डाका रुपमा स्थापित गरेर ‘’नयाँ जनवादी क्रान्तिको ब्यानरमा २०३१ सालमा गठन भएको नेकपा (चौथो महाधिवेशन)को क्रान्तिकारी औचित्य नै संकाको घेरामा छ । भित्र र बाहिरका शक्तिकेन्द्रहरुबाट चलाईएका यस्ता नामधारी वाम संगठनहरु यहाँ धेरै छन् ।

यस्ता संदर्भहरुमा सोंचनिय केहि प्रश्नहरु छन् । यदि यी संगठनहरु साम्राज्यवाद–विस्तारवाद विरोधि नै थिए भने यीनीहरुलाई त्यस्ता देशहरुले आफ्नो भूमिमा सबै प्रकारको सुविधा उपलब्ध किन गराउँछन् ? यदि यस्ता देशहरु आफ्नै चिहान खन्ने नारा बोकेका कुनै आमूल परिवर्तनकारी आन्दोलनप्रति यति उदार छन् भने तिनीहरुलाई साम्राम्यवादी–विस्तारवादी किन भनिएको हो ? यी प्रश्नहरुको जबाफ दुबै पक्षले दिंदैनन् । तर यथार्थता के हो भने ‘घुसपैठ, तोडफोड र उपयोग’को नीति अन्तर्गत विदेशी शक्तिहरुले विश्वभरी नक्कलि वाम संगठनहरु संगठित गरेर त्यसको आवरणमा उत्पीडित वर्गको रगतलाई आफ्नो रणनीतिका लागि प्रयोग गर्ने गर्दै आएका छन् । नेपालभित्रको प्रयोग पनि यसैको एउटा रुप हो । यस्तो तरिकाबाट तिनीहरुले वाम आन्दोलनको साम्राज्यवादीकरण गर्ने, उत्पीडित वर्गमा क्रान्तिप्रति अविश्वास पैदा गर्ने र कमजोर देशहरुको श्रोत–साधनमा पकड बलियो बनाउने काम गर्दै आएका छन् ।

इतिहासको समिक्षा

नेपालको वामपन्थी आन्दोलनमा देखापरेका उपरोक्त प्रकारका समस्याहरुका आधार, श्रोत र कारणहरुको निदान नगरी आन्दोलनको पुनर्गठनको औचित्य पनि छैन । तर अब यतिले मात्र पनि पर्याप्त हुँदैन । यी समस्याहरुसंग जोडिएको अर्को एउटा प्रश्नको पनि समाधान खोजिनु पर्छ । त्यो प्रश्न हो– इतिहासमा भएका वाम आन्दोलनहरुको गंभिर विश्लेषण । सबै आन्दोलनहरुको अन्तिम सारतत्व प्रतिक्रान्ति, साम्राज्यवाद परस्तता, देशद्रोह, जनविरोधको दिशा र संकटको नवीकरणका रुपमा प्रकट भएको छ । यस्ता परिणामहरु आन्दोलनका नेताहरुको नियतले, नियतिले, परिस्थितिले, अस्पष्टताले वा यान्त्रिकताले देखापरेका हुन् भन्ने कुराको गहन रुपमा जाँचपरख गर्न जरुरी भएको छ । आन्दोलनका नाममा भएका घटनाहरुको औचित्यका बारेमा निष्कर्ष निकाल्नु पर्ने भएको छ । अन्यथा इतिहासप्रति मौन रहेर गरिने पुनर्गठनको प्रयासले पनि आफ्नो औचित्य साबित गर्न सक्ने छैन । जो इतिहासप्रति प्रष्ट हुँदैन, त्यसले भविष्यको नेतृत्व पनि गर्दैन ।

यदि उपरोक्त समस्याहरुको निदान गरेर आन्दोलनको पुनर्गठनको दिशामा अघि बढ्ने उद्देश्य राख्ने हो भने पनि त्यसले सर्वप्रथम एउटा वस्तुवादी पार्टीको माग गर्दछ र पार्टी हुनका लागि आवश्यकताले सर्वप्रथम स्पष्ट विश्व दृष्टिकोण र त्यसपछि क्रमसः सबै जीवन प्रणलिप्रतिको विचारधारात्मक श्रृंखला, राजनीतिक कार्यदिशा, सर्वाङ्गीण स्वरुपको कार्यक्रम, संगठन, अन्तर्कियाका लागि आवश्यक संयन्त्र, मनोविज्ञान र निश्चित आकारको जनमतको माग गर्दछ । मानिसहरुको हुल जम्मा गरेर पद बाँडफाँड गर्नु नै पार्टी निर्माण गर्नु होइन । भाडामा उठाईएका मानिसहरुबाट गराईने तोडफोडले आन्दोलनको श्रृष्टि हुँदैन । कुनै विकल्पको सिर्जना नगरेर भएका चिजहरुको ध्वंश गर्नुबाट परिवर्तन आउँदैन । वामपन्थी आन्दोलनको पुर्नठनका लागि पनि अब नयाँ स्कूलिङको आवश्यकता छ । जुन स्कूलिङले आन्दोलनको साम्राज्यवादीकरण गरेको छ, त्यसको लाश बोकेर क्रान्तिको शंख फुक्दै हिंड्ने काम गर्नु अर्को प्रकारको मूर्खता हुन्छ ।                 ०६७ साल बैशाख