Bharat Dahal

Political Analyst for Nepal

परिचय

सामान्य जीवनः

जन्म २०१८ साल फागुन १८ गते दाङ जिल्ला धर्ना गाविसको भमकी गाउँमा । १ देखि १० कक्षासम्मको अध्ययन नारायणपुर मा.वि.मा । २०३५ सालमा एस.एल.सी. परिक्षा पास । २०३५ सालदेखि २०३८ सालसम्म नेपालगञ्जको महेन्द्र बहुमुखि क्याम्पसमा आइ.एस्सी. अध्ययन । ०३९ सालदेखि ०४२ सालसम्म काठमाडौंको त्रि–चन्द्र क्याम्पसमा बि.एस्सी. अध्ययन गर्दा ०४२ साल बैशाख १४ गते शिक्षक आन्दोलनको समर्थनमा निकालिएको जुलुसबाट गिरफ्तार भै १० महिना भद्रगोल जेलमा । जेल बस्नुपर्दा बि.एस्सी. अध्ययन अपुरो । काठमाडौंको ताहाचल क्याम्सपबाट बि.एड. र त्रि.वि.वि किर्तिपुर क्याम्पसमा एम.ए. राजनीतिशास्त्रको अध्ययन ।

राजनीतिः

कक्षा १० मा पढ्दा ०३४ सालदेखि वामपन्थी राजनीतिमा संलग्न । ०३६ सालमा अ.ने.रा.स्व.वि.यू. (छैठौं)को सदस्यता प्राप्त । ०३७ सालदेखि पूर्णकालिन कार्यकर्ताका रुपमा । ०३८ सालमा तात्कालिन ने.क.पा. (चौथो महाधिवेशन)को पार्टी सदस्यता प्राप्त । ०३९ सालमा अ.ने.रा.स्व.वि.यू. काठमाडौं जिल्ला समितिको सदस्य । ०४० सालमा भारतको गोरखपुरमा भएको अ.ने.रा.स्व.वि.यू.को आठौं राष्ट्रिय सम्मेलनबाट केन्द्रिय सदस्य र ने.क.पा. (मशाल)को काठमाडौं जिल्लास्तरिय विशेष समितिको सदस्य । ०४३ सालको बैशाखमा भारतको गोरखपुरमा भएको अ.ने.रा.स्व.वि.यू. (छैठौं)को नवौं राष्ट्रिय सम्मेलनबाट महासचिव र ने.क.पा. (मसाल)को काठमाडौं जिल्ला सदस्य ।
०४३ साल फागुनमा ने.क.पा.(मसाल)बाट विद्रोह गरि ‘डाइनामिक यूथ लिग’को गठन । ०४५ सालमा ‘लिग’ र ने.क.पा.(मशाल)का बीचमा एकता । ०४६ सालदेखि ०४९ सालसम्म पार्टी प्रकाशन विभागको जिम्मेवारी । ०४९ सालमा ने.क.पा.(एकताकेन्द्र), जो पछि माओवादी नामाकरण भएको थियो, को दाङ जिल्ला सदस्य । ०४८ सालदेखि पार्टीमा मतभेद । ०५२ साल फागुन १ गतेदेखि माओवादी ‘जनयुद्ध’मा भूमिगत । ०५३ सालमा रामबहादुर थापामाथि कार्वाही भएपछि मतभेद र विवादमा बृद्धि । २०५४ सालमा भारतको लखनऊमा बोलाएर पुष्पकमल दाहालले बादलका विरुद्धमा लेख्न र आफूसंग भारतमैं बस्न भनि राखेको प्रस्ताव अस्विकार गरेपछि उनीसंग संबन्धमा निकै कटुता ।

माओवादीको ०५४ सालको चौथो विस्तारित बैठकले नेतृत्व केन्द्रीकरणका नाममा पुष्पकमल दाहालको फोटो सार्वजनि गर्ने, उनका कोटेशनहरु घोक्ने, पार्टीको फौजीकरणका नाममा पार्टी पंक्तिलाई आज्ञा पालक भिडका रुपमा परिणत गर्ने र पार्टी, सेना तथा संयुक्त मोर्चा सबैको लगाम उनकै हातमा केन्द्रीत गर्ने निर्णय गरेपछि त्यस्तो व्यक्तिवादी सामन्ति निर्णय कार्यान्वयन गर्न इन्कार गरी ०५५ साल असोजमा दाङ, बाँके र बर्दियाका साथिहरु सहित विद्रोह गरि ‘देशभक्त कम्युनिष्ट लिग’को गठन ।
०५७ सालमा ‘लिग’ र ने.क.पा. (एकताकेन्द्र) का बीचमा एकता भएपछि सो पार्टीको केन्द्रीय सदस्य । ०५९ मा तात्कालिन ने.क.पा. (एकताकेन्द्र) र ने.क.पा. (मसाल) का बीचमा एकता भएपछि ने.क.पा. (एकताकेन्द्र-मसाल) केन्द्रीय सदस्य । २०६२ सालमा ने.क.पा. (एकताकेन्द्र) को वैधानिक संगठन ‘जनमोर्चा नेपाल’को केन्द्रीय सदस्य । ०६२ देखि ०६४ सम्म ‘नागरीक समाज, दाङ जिल्लाको सचिव । ०६५ सालमा ‘एकताकेन्द्र’ र ‘जनमोर्चा, नेपाल’ माओवादीमा विलय भएपछि सो प्रकृयामा जान इन्कार गरि पार्टीको पुनर्गठन । ०६६ सालदेखि नेपालको नव औपनिवेशिकता र साम्राज्यवादको नेपाल बिखण्डनको रणनीतिका विरुद्धमा राष्ट्रिय प्रतिरोध संघर्ष संगठित गर्नका लागि कृयाशिल ।

पत्रकारिता र लेखनः

०३७ सालमा अ.ने.रा.स्व.वि.यू. (छैठैं) बाँके जिल्ला मुखपत्रका रूपमा प्रकाशित ‘चित्कार’बाट लेखन सुरू । ०४० मा पृष्ठभूमी साप्ताहिकको प्रकाशनदेखि ०४९ सालसम्म पत्रकारिता । पृष्ठभूमी साप्ताहिक, योजना साप्ताहिक, जनादेश साप्ताहिक, स्वस्तिक साप्ताहिक, यूगसन्देश साप्ताहिकहरु केहि समयसम्म आफ्नै सम्पादनमा प्रकाशित । ३ दर्जन जति पत्रिकाहरुमा हालसम्म ३ हजार जति लेखरचना, पार्टी दस्तावेज, राजनीतिक प्रतिवेदन र कार्यपत्रहरु प्रकाशित ।